एमाले अध्यक्ष ओलीको प्रश्न, मान्छे मारेको मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ?
काठमाण्डौ । सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न उठाउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाउनुभएको हो ।
एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भन्नु भयो, ‘नेपालगञ्ज आतङ्कित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगन्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।
अध्यक्ष ओलीले राष्ट्रपति संविधानको संरक्षक हुनु पर्नेमा सरकारको निर्देशन पालनकर्ता मात्र भएको बताउनुभयो । उहाँले राष्ट्रपति आलंकारिक होइन खोपीको देउता भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक प्रमाणिकरण गरेकोप्रति लक्षित गर्दै अध्यक्ष ओलीले अघिल्लो संसदले फिर्ता गरेको,अघिल्ला राष्ट्रपतिले संसदमै फिर्ता पठाएको बताउनुभएको तर वर्तमान राष्ट्रपतिले खाली कागजमा सही गरेको बताउनुभयो।
ओलीले शान्ति प्रक्रियाका बाँकी काम समाधान गर्नको लागी आफूले सक्दो प्रयास गरेको तर आफ्नै सहकर्मी तत्काली नेकपाका अध्यक्ष प्रचण्डले साथ नदिएको बताउनु भएको छ । त्यस्तै उहाँले सरकारले जनयुद्धका दिन बिदा दिने निर्णय गरेकोमा त्यो मान्य नभएको बताउनु भएको छ ।