क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित
काठमाण्डौ । क्वाटरफाइनलमा भारतलाई कडा टक्कर दिएर नेपाल पराजित भएको छ ।
चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
आज भएको खेलमा २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए । कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए । कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सक े। सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए । भारतका रवि विस्नोई र आभेस खानले ३।३ र अर्सदिप सिंहले २ विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १।१ विकेट लिए ।
भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको थियो । योसँगै एसियन गेम्समा नेपाल बाहिरिएको छ ।