मौसम खबर : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाण्डौ । नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आज राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाई छ ।