गठबन्धन सरकारले देश बरबाद गर्ने काम मात्र गरेको महासचिव पोखरेलको आरोप

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई गम्भीर आर्थिक संकटमा लैजाने काम वर्तमान गठबन्धन सरकारले गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले दलाल नोकरसाहको हितमा काम गरिहरेको बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकमा संकट पर्दा त्यो संकटको निवारण गर्ने सार्मथ्य नेकपा एमालेले मात्र राख्ने बताउनुभएको छ ।
उहाँले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसको कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताउनुभयो । सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको र राष्ट्रलाई जोड्ने अभियानमा पनि एमालेले अगुवाइ गरेको उहाँले दाबी गर्नुभयो ।

वर्तमान समयमा एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको उहाँले बताउनुभयो । यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । सुशासनको कुरा गर्ने सरकारलाई भ्रष्टाचारको घटना छानबिन गर्न समेत प्रतिपक्षले दबाब दिनुपरेको उहाँले स्मरण गराउनुभयो ।

गठबन्धन सरकारले देश बरबाद गर्ने काम मात्र गरेको महासचिव पोखरेलको आरोप छ । देश गम्भीर समस्यामा परेको बेला पनि प्रधानमन्त्री १५ दिनसम्म विदेश भ्रमणमा हिँड्नु भएको भन्दै उहाँले आलोचना गर्नुभयो । जनताले रोजेको पार्टी नेकपा एमाले नै भएको र आउने निर्वाचनमा जनताले रोजेको पार्टीलाई सत्तामा पु¥याउने गरी मत दिनुपर्ने उहाँले बताउनुभएको हो ।