नेकपा एमालेमा अझै १० वर्ष अध्यक्ष ओलीको विकल्प छैन : उपमहासचिव गुरुङ

काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा अझै १० वर्षसम्म अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ ।

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा आज (सोमबार) बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

नेकपा एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने उपमहासचिव गुरुङले बताउनुभयो । विभाजन गलत थियो भन्ने २०५४ सालदेखि नै देखिएको उहाँको भनाइ थियो ।

समाजवादको आधार तयार पार्न एमालेले लगातार २०/२५ वर्ष जित्नुपर्ने उहाँको जिकिर थियो । चुनावमा हुने प्रतिद्वन्द्वीको तिकडम चिर्न सक्ने, बहुमत ल्याउने र आफूले जिताएर पठाएको जनप्रतिनिधिलाई नियन्त्रणमा राख्न सक्ने नेतृत्व पार्टीमा आवश्यक रहेको उपमहासचिव गुरुङले बताउनुभयो ।