मन्त्रिपरिषद्ले पास गरेको आममाफीको विषयलाई राष्ट्रपतिले इन्कार गर्न सक्ने संवैधानिक व्यवस्था छैन : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ ।
संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिन अनुरोध गर्न आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जस अपजसको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गर्नुभयो ।
उहाँले कहिलेकाहीँ राष्ट्रपतिकहाँ आउनुपर्ने अवस्था नेताहरूको हुन सक्ने तर यसपटक आएको चाहिँ उल्टो भए जस्तो लागेको प्रतिकिय्रा दिनुभयो ।
राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार सांसदलाई भएको स्मरण गरोनुुभयो । उहाँले यतिबेला संविधान, यो व्यवस्था, गणतन्त्रमाथि नै प्रहार भइरहेको भन्ने चिन्ता उठिरहेको बताउँदै उहाँले संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताहरूले होसियार भएर सोच्न जरुरी रहेको बताउनुभएको हो ।
सो क्रममा रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले राष्ट्रपतिज्यूसमक्ष सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्न आएको बताउनुभयो । उहाँले मुलुककै अभिभावक भएको नाताले राष्ट्रपतिज्यूसँग सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु आफूहरूको हक भएको बताउनुभएको थियो ।