मौसम खबर : कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाण्डौ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । साथै आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने भनाई छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुई/तीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।