आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने महामन्त्री गगन थापाको भनाइ
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गर्नुभएको छ ।
कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न उहाँले प्रस्ताव गर्नुभएको हो ।
सहमतिअनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपाल जो प्रधानमन्त्री भएपनि मोर्चालाई सरकार चलाउन दिने उहाँले बताउनुभयो । मोर्चापछि कांग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा कांग्रेस एक्लैले चलाउन पाउनुपर्ने उहाँको भनाइ छ । त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने उहाँले बताउनुभयो ।
उहाँले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रष्ट पार्नुभयो ।