राष्ट्र संघमा नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सफल भएको प्रधानमन्त्री दाहालको दाबी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ ।

उहाँले संयुक्त राष्ट्र संघको ७८ औं महासभामा आफूले गरेको सम्बोधनबाट यसपटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गर्नुभएको हो । आफ्नो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आज प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उहाँले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ ।

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको बताउनुभयो । उहाँले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताउनुभयो ।