पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्री दाहालको निर्देशन
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । उहाँले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी दिनुभयो ।
निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ । निगमले पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजल तथा मट्टीतेल लिटरमा छ रुपैयाँले बढाएको थियो । त्यस्तै सबैभनदा धेरै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाएको थियो । निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ बढाएको थियो ।