निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज (शुक्रबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुव्र्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । त्यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषीमाथि नियमअनुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको उहाँको भनाइ छ । चिकित्सकहरू एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्तामार्फत गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकहरूलाई जानकारी गराउने जिम्मेवारी दिएको पनि सभापति जोशीले बताउनुभयो ।

बैठकमा सांसदहरूले चिकित्सकहरूमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए।