नेपाली फुटबल टोलीका फरवार्ड विमल अस्ट्रेलिया प्रस्थान

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर आज बिहान अस्ट्रेलिया लागेका हुन् ।

विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । डेब्यु खेलमै उनले गोल गरेका थिए । विमलले हालसम्म राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान रहेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरु दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भइसकेका छन् ।