पशुपति जलहरी प्रकरणमा अनियमितता भएको अख्तियारको निष्कर्ष
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ ।
अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।
अख्तियारलेसो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्न लागेको हो । अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो । सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो ।
२०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गर्नुभएको थियो ।
विकास कोषसँग १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाब किताब छ । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ ।
तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरण पछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।
कोषले जलहरी बाहेक सुनको पेटी बनाएको दाबी गरेको थियो । २०८० असार १० मा अख्तियारको टोलीले मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो । सो विषयमा अख्तियारको कार्यालय औपचारिक रूपमा बोलेको छैन । कोषका अनुसार त्यो बेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम सुनको तौल पुगेको थियो । त्यसमध्ये करिब ९ किलो सुनको पेटी थियो ।