पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने
काठमाण्डौ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ ।
यसका लागि ठूलो फेदीमा ‘हेडकाउन्टिङ सीसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सीसी क्यामेरा जडान गरिएको बताउनुभयो ।
कार्यकारी निर्देशक काफ्लेका अनुसार नियमित मोनिटरिङ फेदीमा रहेको प्रहरी चौकीबाट हुनेछ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।
प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हरसम्भव उपायका उपकरणको प्रयोग गरेर पाथीभरा मन्दिरमा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आउँदो शनिवारदेखि सुरु हुने गरी पाथिभरा मन्दिर परिसरमा चारवटा सीसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।
उहाँका अुनसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सीसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सीसी क्यामेरा जडान भएको छ ।