अभियन्ता ईः सँग वार्ता गर्न काठमाण्डौ महानगरद्वारा वार्ता टोली गठन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका अभियन्ता  ‘इ’ सँग वार्ता गर्न टोली गठन गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

वार्ताको तयारीबारे छलफल गर्न अहिले महानगरमा बैठक बस्दैछ । बैठकपछि मात्रै वार्ता कसरी गर्ने भन्नेबारे निर्णय हुने मानन्धरले बताउनुभयो ।

चुनावको समयमा सडक व्यापार व्यवस्थित बनाउने बताएका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले चुनावपछि भने आफ्नो प्रतिबद्धता बिर्सिएकाले त्यो कुरा सम्झाउन भन्दै अभियन्ता  ‘इ’ ले गएको हप्तादेखि उभिएर आन्दोलन गरिरहेका छन् ।

हिजो (सोमबार) ‘इ’ ले महानगरका मेयर शाहले श्री ६ को शैलीमा वार्ताको प्रस्ताव आएको र तयारीका लागि ३० मिनेट माग्दा समय नदिएकाले वार्ता हुन नसकेको बताएका थिए ।

आज बिहान उपमेयर सुनिता डङ्गोलले आन्दोलनरत ‘इ’ लाई भेट्नु भएको छ । भेटमा उहाँले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताउनुभएको थियो ।