ईःको आन्दोलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन

काठमाण्डौ । सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि आन्दोलनरत ईःको आन्दोलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऐक्यबद्धता जनाउनुभएको छ ।

आज (सोमबार)देखि काठमाडौँमा सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले गरिबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताउनुभयो ।

उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम नलिइ भन्नुभयो, ‘एउटा युवा १२५ घण्टादेखि उभिएको उभियै गरेर सत्याग्रह गरिरहेको छ । एकजना जोसँग यो कुरा सम्बन्धित छ, तिनले तिम्रा नेता खोज्दै वार्ता गर्न जाने आदि भनेको सुनियो । मान्छेलाई घमण्डले बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन । समस्या समाधान गरेर सफल हुन्छ ।’

अध्यक्ष ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । विकल्प नहुञ्जेल पुटपाथ व्यापारीलाई बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उहाँको भनाइ छ । उहाँले यस विषयमा सरकारले कुनै चासो नदेखाएको भन्दै टिप्पणी गर्नुभएको छ ।

ईः लगायत अभियन्ताहरू विगत ७ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । मेयर शाहले आज बिहान आन्दोलनरत पक्षलाई आफैँले वार्ताका लागि बोलाउँदा पनि नआएको बताएका थिए । तर, अभियन्ता ईःले शाह आफैँ आएर आफूहरूलाई वार्तामा नबोलाएको भन्दै प्रतिकार गरेका छन् । आफूहरूलाई वार्तामा बोलाउन नगर प्रहरी पठाएको र प्रहरीले धम्कीको शैलीमा बोलाएको ईःको आरोप छ ।