इन्द्रजात्रा हेर्न २० विदेशी नगर प्रमुखलाई काठमाण्डौ महानगरको निम्तो
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले काठमाण्डौको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।
इन्द्रजात्राका सन्दर्भमा आज (सोमबार) काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका बिभिन्न नगरका २० जना नगर प्रमुखहरु इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो ।
त्यस्तै महानगरले २२ जना स्वदेशी पाहुनाहरु पनि अवलोकनका लागि आउने जानकारी दिएको छ । जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।
जात्राका लागि शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । उहाँले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको र जात्रालाई भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी भइरहेको बताउनुभयो ।
त्यस्तै उहाँले विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईः ले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भइरहेको भन्दै छलफल गर्न महानगरको ढोका खुल्ला रहेको बताउनुभएको छ । सामाजिक अभियन्ता ईः ले राखेको बिषय महानगरको मात्रै नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
भोलि (मंगलबार) हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि विधिवत रुपमा प्रारम्भ हुने इन्द्रजात्रा असोज ११ गते बिहीबार रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइँदैछ । इन्द्रजात्रा लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।