सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाण्डौ । एक साताअघि आयरल्यान्डको भ्रमणमा जानुभएका सभामुख देवराज घिमिरे स्वदेश फर्किनुभएको छ ।

आज (बिहान) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनेड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्यान्डका राष्ट्रपति माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भएको बताउनुभयो ।

भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताउनुभयो ।

सभामुख घिमिरेले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्यान्ड भ्रमणमा सहजीकरण गर्ने, आउँदो दिनमा नेपालबाटै आयरल्यान्डका लागि भिसाको प्रबन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताउनुभयो ।