क्रिकेट संघको सचिवमा पारस खड्का विजयी
काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । आज (शनिबार) क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।
दुई वर्षअघि क्रिकेटको व्यवस्थापनमा आउने उद्घोषसहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी क्रिकेटबाट सन्यास लिएको दुई वर्षमै क्रिकेटको मुख्य पदमा निर्वाचित भएका छन् ।
प्रशान्त क्यानका पूर्व कार्यवाहक सचिव थिए । विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए ।
क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित रहे । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया पनि निर्विरोध निर्वाचित रहे ।