प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङजाओमा भेटवार्ता सुरु
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता सुरु भएको छ ।
आज बिहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच हाङजाओमा भेटवार्ता सुरु भएको हो ।
भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा छलफल भयो भन्ने खुलेको छैन । यद्यपी, यो भेटघाटपछि प्रचण्डले दुइ घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री न्युयोर्कबाटै चीन जानुभएको हो । उहाँलाई बिहान चीनको हाङजाओ विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलमन्त्री एवम् १९ औँ एसियन गेम्स २०२३ का अध्यक्षले स्वागत गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्ड भोलि (आइतबार) बेइजिङ पुग्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि (सोमबार) का लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो ।