क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियानको समयावधि दोस्रो पटकलाई थपियो

काठमाडौ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।

किशोरीलाई लगाइने एचपिभी अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभएको हो ।

अब असोज ६ गते शनिबारदेखि १० गते बुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

डा.गौतमले खोप लगाउने समयावधिमा शनिबार, शोक बिदा, बाल दिवस, तीज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताए । देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरूको संख्या साढे तीन लाख रहेको छ । ती मध्ये नमूनास्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप वि.सं २०६५ भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, बाग्मतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बिनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपिभी खोप लगाएका छन् ।

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपिभी खोप अभियानको प्रर्दशन गरेको थियो । कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, वागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।