सरकार र आन्दोलनरत शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु

काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।

वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे संशोधनको माग राख्दै आएका छन् ।

हिजो (बिहीबार) पनि शिक्षकहरु र सरकारबीच दुई चरणमा वार्ता भएको थियो । तर विना निष्कर्ष टुंगिएको थियो । दुबै पक्षबीच आज बिहान वार्ता हुने भनिएकोमा आन्तरिक छलफल गर्ने भनेर समय सारिएको थियो ।

शिक्षकहरुले सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग राखेका छन् । बिधेयकमा आफूहरुले उठाएका माग संबोधन भए या विधेयक फिर्ता लिए मात्रै तत्कालका लागि आनदोलन फिर्ता हुनसक्ने शिक्षक संगठनहरुको भनाई छ ।