प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा : एमाले
काठमाण्डौ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको छ । एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
कमिटीका अध्यक्ष पाण्डेले नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो । उहाँले मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुन गइरहेकाले त्यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुने बताउनुभयो । बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा पार्टीमा नभएको उहाँको तर्क छ । पार्टीकोे लक्ष्य र गन्तव्यअनुसार नै प्रभावकारीरूपमा अघि बढ्न उहाँको भनाइ छ ।
यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ ।