पार्टी र नेतृत्वका नाममा ‘फेक आइडी’ चलाउनेलाई एमालेले कारबाही गर्ने
काठमाण्डौ । अनधिकृतरूपमा पार्टी र नेतृत्वका नाममा नक्कली आइडी बनाए नेकपा (एमाले)ले कारबाही गर्ने भएको छ ।
एमालेले आम नागरिक र पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेले आफ्नो पार्टी र नेताको नाममा सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाहीको दायरमा ल्याउने जनाएको हो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हिजो एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको बताउनु भएको हो ।
साथै पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध एमालेले भनेको छ ।