संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार हुन्छ : उपाध्यक्ष ज्ञवाली
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनबाटै समाजवादको आधार तयार पार्न सकिने बताउनुभएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटीले संविधान दिवसको अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा लेखिएका अधिकार कार्यान्वयनबाटै मुलुक समृद्ध हुनसक्ने बताउनुभएको हो ।
संविधानको पूर्ण कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकताको विषय रहेको उहाँले टिप्पणी समेत गर्नुभयो । कुशलतापूर्वक संविधान लागू गरेर देश आत्मनिर्भर हुँदै गए मात्रै दलाल पुँजीवादको अन्त्य हुने उहाँले बताउनुभएको छ ।
उपाध्यक्ष युवराज ज्ञवालीले समाजवादमा पुग्ने लक्ष्य संविधानले बोकेको तथा समाजवादको आधार तयार गर्न संविधानलाई राम्रोसँग कार्यान्वयन गर्नुपर्नेे उल्लेख गर्नुभयो । त्यसका लागि संविधान ठीकसँग कार्यान्वयन गर्नुपर्ने एवम् मौलिक हक कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।