संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम नहोस् भन्नेमा चनाखो हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र आन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ ।
आज (बुधवार) शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने बताउनुभयो । सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको बताउनुभयो । उहाँले सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो । जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले देश र विश्वलाई प्रभावित पारिरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताउनुभयो । उहाँले अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा नागरिकलाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य रहेको बताउनुभयो ।
तल्लोभन्दा तल्लो तहमा रहेका नागरिकको पहुँचमा राज्यसत्ता पुगेको भए पनि राज्यको चरित्रको भने पुनःसंरचना हुन अझै बाँकी रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।