दलहरुबीचको असहमतिले विधेयक पारित बिनानै संसदको चालू अधिवेशन अन्त्य हुने सम्भावना
काठमाण्डौ । संघीय संसदको चालू अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने देखिएको छ ।
संसद र दलहरुको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रुपमा रहेको संघीय संसदको दोस्रो अधिवेशन एकमात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो ।
२०८० साल वैशाख २४ गतेदेखि शुरु भएको संघीय संसदको दोस्रो अधिवेशनले हालसम्म मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० मात्रै पारित गरेको छ । यसबाहेक चालु अधिवेशनको ५५ वटा बैठक बसिसक्दा पनि एउटा बाहेक विधेयक पारित हुन नसकेको संसदले अब केही दिनमात्रै चल्ने चालू अधिवेशनमा अन्य कुनैपनि विधेयक पारित हुने अवस्था देखिँदैन ।
प्रतिनिधि सभाको आगामी बैठक असोज १४ गते र राष्ट्रिय सभाको आगामी बैठक असोज १२ गते बोलाइएको छ । दशैँ तथा तिहार नजिकिँदै गरेको अवस्थामा चाडपर्वअघि नै संसदको चालू अधिवेशन अन्त्य हुनेछ । यसो हुँदा संसद तथा समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरुमाथि पर्याप्त छलफल हुन नसक्ने र विवादित विषयहरुमा समेत दलहरुका बीचमा सहमति जुट्न नसक्दा विधेयक पारित बिनानै अधिवेशन अन्त्य हुने सम्भावना देखिएको हो ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संघीय संसदमा हाल १७ वटा विधेयकहरु विचाराधीन अवस्थामा रहेका बताउनु भयो । प्रतिनिधि सभाको समितिमा १२ वटा विधेयक रहेको र भर्खरै दुईवटा विधेयक दर्ता भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय सभामा ३ वटा विधेयकहरु रहेको पनि उहाँले जानकारी दिनुभयो । प्रतिनिधि सभाको चालु अधिवेशनमा ५५ वटा बैठक बसेको छ । यस अधिवेशनमा ७ वटा बैठक अवरुद्ध भएको र ८ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रवक्ता गिरीले बताउनुभयो । उहाँले समितिमा रहेका विधेयकहरुलाई अगाडी बढाउने सन्दर्भमा सम्बन्धित मन्त्रालय हेर्ने मन्त्री, समिति सभापति र समिति सदस्यहरुको प्रमुख भूमिका हुने बताउनुभयो ।
विधेयकहरु पारित गर्न नसक्नुमा भने राजनीतिक दलहरु एक आपसमै आरोप–प्रत्यारोप गर्देर्छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ । सत्तारुढ दलहरु सरकारको बचाउ गर्दै सरकारले संसदप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेको दाबी गर्छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले विधेयक पारित हुन नसक्नुमा सांसद र प्रतिनिधि सभाको दोष नभएको बताउनु भयो । उहाँले सरकारको अर्कमण्यता र संसदलाई प्रभावहिन बनाउने सरकारको चाहानाका कारण विधेयकहरु पारित हुन नसकेको बताउनुभयो । सरकार विधेयक दर्ता गर्न तयार नै नभएको उहाँको भनाई छ ।
नेपाली कांग्रेसका सचेतक सुशीला थिङले चालू अधिवेशनमा बजेट छलफल गरी पारित गर्नुपर्ने भएकाले पनि अन्य विधेयकमा ध्यान पु¥याउन नसकिएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलले गरेको संसद अवरोधका कारण पनि विधेयक पारित गर्ने काममा असर परेको बताउनुभयो । यद्यपी विधेयकहरु दर्ता भइरहेका र समितिमा समेत रहेको भन्दै उहाँले संसदीय प्रक्रियाका कारण पनि ढिलासुस्ती भएको उहाँले बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले समितिहरुको कारण विधेयक पारित हुन ढिलाइ भइरहेको बताउनुभयो । सरकारले संसदलाई बिजनेश दिइरहेको उहाँले बताउनुभयो । सरकारले ल्याएको विधेयक समितिमा पुगेको लामो समय भइसक्दा पनि समितिले पारित गरेर संसदमा नपठाएको उहाँको भनाई छ । विगतमा समिति सभापति नभएको बाहनामा विधेयक रोकिएको भन्दै उहाँले अब भने छिटोभन्दा छिटो विधेयक पारित गरेर समितिले संसदमा पठाउनुपर्ने बताउनुभयो । चालु अधिवेशनमै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने बताउनुभयो ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा अनुगमन तथा मूल्यांकन विधेयक २०७६, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सम्पती शुद्धीकरण(मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ विचाराधीन अवस्थामा रहेका छन् ।
त्यस्तै, संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक२०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक २०७९, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक २०७७ र भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक २०७७ पनि विचाराधीन छन् ।