शिक्षा विधेयकप्रति शिक्षकहरुको असन्तुष्टि, काठमाण्डौको माईतीघरमा प्रदर्शन
काठमाण्डौ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाण्डौको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
देशभरबाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरु माईतीघरमा भेला भइ आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण बिद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ । सरकारले वार्ताका लागि आव्हान गरेपनि शिक्षकहरु वार्तामा बस्न मानेका छैनन् ।
उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् । त्यसैगरी शिक्षकहरुले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने्, शिक्षा विधेयक संशोधन गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाण्डौको माईतीघरमा शिक्षकहरूले आज (बुधबार) देखि आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आन्दोलनमा आएका शिक्षकहरू माइतीघरमा भेला भई प्रदर्शन गरिरहेका छन् ।
भिडभाडका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ’डाइभर्सन’ गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।