राजनीतिक दलहरुलाई देशप्रति जिम्मेवार बन्न एमाले अध्यक्ष ओलीको आह्वान

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले त्यसतो बताउनुभएको हो ।

संविधान निर्माणमा स्वर्गीय सुवासचन्द्र नेम्वाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेम्वाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुखद् अवस्था आएकाले उहाँको स्मरणमा आफ्नो पार्टीले ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

त्यसैगरी, अध्यक्ष ओलीले देश गम्भिर संकटको अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ । धरै प्रकारका खतराहरुबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको पनि स्पष्ट पार्नुभयो । ती समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने उहाँको धारणा छ ।

अध्यक्ष ओलीले नेकपा एमालेले मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएको र त्यसलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गर्नुभयो ।