संविधान दिवसको अवसरमा सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन हुने

काठमाण्डौ  । भोलि (बुधबार) बाट सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।

संविधान दिवसको अवसरमा सुरुवात गर्न लागिएको द्रुत बस सेवा सुरु गर्नका लागि अहिले मार्किङ गरेर छुट्टै लेन तयार गरिएको छ । द्रुत बस सेवाको लेनमा रातो रंगले पोतिएको छ ।

यस सेवा सञ्चालनका लागि सडक विभागले सडकमा मार्किङको काम सकाएको छ भने यातायात व्यवस्था विभागलाई बसको व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सेवा सुरु भएपछि यस लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ ।

यस समय बाहेकको समयमा भने अन्य सबै प्रकारका बस यस लेनबाट चलाउन पाइने छ ।  कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने भएकाले यस लेनमा चल्ने बसले ट्राफिक लाइटमा पनि रोकिन नपर्ने बताइएको छ । विभागका अनुसार परीक्षणको लागि अहिले सूर्यविनायक–रत्नपार्क चलाइए पनि यसलाई पछि विस्तार गरिने छ ।