भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला : दुई देशबीचको सम्बन्ध चिसियो

एजेन्सी ।  शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई क्यानडाले देश निकाला गरेको छ ।

विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण नखुलेको बीबीसी हिन्दीले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गर्नुभएको थियो ।

साथै उहाँले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिनुभएको थियो ।

बीबीसी हिन्दीका अनुसार भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको हो ।

क्यानडामा भारतीय मूलका १४ ला भन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।