गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्रबाट होशियार रहनुपर्छ : नेकपा एसका अध्यक्ष नेपाल
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउँदैे सबैलाई उक्त षड्यन्त्रबाट होशियार रहन आग्रह गर्नुभयो ।
उहाँले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताउनुभयो । गठबन्धन बनाउने काममा आफूहरुले नै भुमिका खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गर्नुभयो । उहाँले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताउनुभयो ।
अहिले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको उहाँको भनाइ छ ।