महादेवको पूजा आरधना गरी आज हरितालिका तीज पर्व मनाइँदै
काठमाण्डौ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा हिन्दु नारीहरुले व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो (आइतबार) दर खाएर बसेका महिलाहरु आज (सोमबार) दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ ।
तीजको अवसरमा आज काठमाण्डौको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा बिहानैदेखि भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ । हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै तीजमा ब्रत बस्ने गर्दछन् ।
यस पर्वमा ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।
तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ ।
निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।