आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न वार्ता टोली गठन : टोलीले वार्ता सुरु गर्‍यो

काठमाण्डौ । आन्दोलरत नेपाल चिकित्सक संघका मागबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्नुभएको हो ।

वार्ता टोलीले आन्लोलनरत चिकित्सहकरसँग स्वास्थ्य मन्त्रालयमा वार्ता समेत शुरु गरेको छ । वार्ता टोली गठन भए लगत्तै आमन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता भएको हो ।

आज आइतबार सरकारले गठन गरेको वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै चिकित्सक संघको आब्हनमा आज देशैभरका आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिएको छ ।