आज देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द
काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
मकवानपुरको हेटौँडास्थित सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । हिजो विज्ञप्ति जारी गर्दै संघले सो कुरा जनाएको थियो ।
गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो ।
सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।
साथै सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ ।