आज अन्तर्राष्ट्रिय साक्षरता दिवस : १३ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाण्डौ ।  नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ नाराकासाथ आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइदै आएको छ ।
सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत छ । त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ ।

नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका ८ सहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो । राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ ।