नयाँ नक्साबारे चीनलाई जानकारी गराएको रेर्कड नभेटिएको परराष्ट्रमन्त्री साउदको भनाइ
काठमाण्डौ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (बिहीबार) बिहान बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताउनुभएको छ ।
२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदले बताउनुभएको हो ।
भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पत्राचार गरिएको दाबी गरेको विषय पनि संसदीय समितिमा अहिले उठेको छ ।
संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रहरूलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बैठकमा प्रश्न गरेको थियो ।