चीनले जारी गरेको नक्साबारे कुटनीतिक नोट पठाउन सांसदहरुको माग
काठमाण्डौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् ।
समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्सा छिमेकी र विश्व मञ्चमा प्रस्तुत गर्न के ले रोकेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले चीनको राजदूतको कुरा संवेदनशील रहेको बताउँदै तुरून्तै नोट पठाउन आग्रह समेत गर्नुभयो ।
माओवादीका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको अब हुने भ्रमणमा सैन्य गठबन्धनमा संलग्न हुने गरी हस्ताक्षर गर्न नहुने बताउनुभयो । विकास साझेदारीमा भने सहमति गर्नुपर्ने उहाँको भनाइ छ ।
नेकपा (एमाले)का सांसद भीम आचार्यले चीनको नयाँ नक्सामा चुच्चे नक्सा किन परेन भन्दै प्रस्ट्याउन माग गर्नुभयो ।
स्वतन्त्र सांसद प्रभु शाहले प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संसदीय सहभागिता जरूरी रहेको बताउनुभयो । नाका ठप्प भएकाले चाडो खुल्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
नेमकिपाका सांसद प्रेम सुवालले नक्साको विषयमा पत्र नगएको भए सरकारले आजको आजै पठाउनुपर्ने बताए । उहाँले यूएन भ्रमणबाट नेपाल फर्किएर मात्रै चीन भ्रमण जान प्रधानमन्त्रीलाई सुझाउनुभयो ।