मौसम खबर : मधेश र कोशी प्रदेशको तराई भू-भागमा हावाहुरीको सम्भावना

काठमाण्डौ ।  हाल नेपालमा मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

अहिले कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

साथै उहाँले मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको समेत बताउनु भएको हो ।

यस्तै आज राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको नगरकोटीको भनाई छ ।

साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।