भ्रष्टाचारविरोधी अभियान चलाएपछि आफूलाई हटाउन लागी परेको गृहमन्त्री श्रेष्ठको दाबी
काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि अपराधी र तस्करहरू आफूहरूलाई हटाउन लागी परेको दाबी गरेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले खोलेको भ्रष्टाचारको फाइलले गठबन्धनमा असन्तुष्टि बढेर गृहमन्त्री नै फेर्ने प्रयास गरिरहेको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचारमा संलग्न हुनेहरूले एउटाबाट अर्को रूपमा सरकारको अभियान असफल पार्ने काम गरिरहेको बताउनुभयो । उक्त अभियान सञ्चालन गर्नेहरूलाई घेराबन्दी गर्ने वा सरकारलाई अप्ठ्यारो पारेर मूल पात्रहरुलाई हटाउन खोजिरहेको आरोप लगाउनुभयो ।
६० किलो सुन समातेपछि त्यसलाई आधार बनाएर तस्करीको जरैसम्म पुग्ने त्यसको सारा नेटवर्कको पहिचान गरेर कानूनी कारबाही गर्ने प्रक्रियामा अहिले प्रहरी र सिआइबी अनुसन्धानरत रहेको बताउनुभयो ।
उहाँले यो सरकार र गृहमन्त्री टिक्ने दाबी गर्दै भ्रष्टाचारी र तस्करीसँग कुनै सम्झौता नगरी आफ्नो अभियानलाई अगाडि बढाउने सुनाउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणलाई पनि चाँडै निष्कर्षमा पुर्याउने बताउनुभयो ।