कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
काठमाण्डौ । गत शुक्रवार स्थगित भएको कोशी सरकारविरुद्ध परेको मुद्दाको रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको छ ।
गत शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ’हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
अब कोशी सरकारविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिनुभएको थियो ।