मौसम खबर : देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू साथै बाँकी भू–भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिमा मानन्धरले बताउनु भउको छ ।
साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उहाँको भनाई छ ।
मौसमविद् मानन्धरका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । बिस्तारै मौसम खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
यस्तै, आज राती भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।