संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेससमक्ष राजदूत थापाले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र

काठमाण्डौ । संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत लोकबहादुर थापाले आज (शुक्रबार) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

उक्त अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उहाँले कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  संयुक्त राष्ट्रसंघको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद दिँदै संयुक्त राष्ट्रसंघलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता रहेको पनि दोहोर्याउनुभयोे ।

राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसंघीय सुधारलगायत क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गर्नुभयो । शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताउनुभएको थिया ।

राजदूत थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुग्नुभएको थियो ।