कोशी सरकारविरुद्ध परेको रिटमा आज हुने भनेको सुनुवाइ स्थगित

काठमाण्डौ ।  कोशी सरकारविरुद्ध परेको रिटमा आज शुक्रवार हुने भनेको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले रिट हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

आज उब्त रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो ।

गत भदौ ७ गते खतिवडाको इजलासले प्रदेशसभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै कोशी सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

अन्तरिम आदेशसँगै आजका लागि पेसी तोकिएको थियो ।