१० वटै संसदीय समितिका सभापतिले लिए पद तथा गोपनियताको सपथ

काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतका १० वटै संसदीय समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आज (सोमबार) निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाउनुभएको हो ।

सत्ता गठबन्धन र प्रतिपक्षबीचको भागबन्डाअनुसार अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल निर्वाचित भएका हुन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिनुभएपछि जनमतका अब्दुल खान निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले आज पूर्णता पाएका हुन् ।