एमाले कोशी अधिवेशनका लागि असोज ५ गते एकै दिन प्रतिनिधि छनोट गर्ने
काठमाण्डौ । कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमालेले असोज ५ गते एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश कमिटीको हिजो (आइतबार) बसेको बैठकले प्रदेशभर सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो । कोशी प्रदेश अधिवेशन असोज १२ र १३ गते विराटनगरमा हुनेछ ।
असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने प्रदेश कमिटी सहसचिव शैलेश लामाले बताउनु भयो ।
एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी सदस्य भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाइएको छ । सबै पालिकाबाट गरी हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।
प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते शपथग्रहण गराउने निर्णय पनि गरेको छ। प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति बनाइएको छ ।
बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्न पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुवोध प्याकुरेल सदस्य रहनेगरी तीन सदस्यीय कार्यदल पनि बनाएको छ ।