प्रतिनिधि सभाअन्तर्गत १० संसदीय समितिले आज पूर्णता पाउने

काठमाण्डौ । संसदीय समितिको १० वटा बैठक आज (आइतबार) एकै पटक बस्दै छ ।

बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आज संसदीय समितिले सभापति पाउन लागेको हो ।

१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि त्यसको घोषणा हुन भने बाँकी छ । एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदै छ ।

सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा. आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।

त्यस्तै, प्रमुख प्रतिपक्ष (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ । अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)बाट कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ । नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिनुभएको छ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सत्तारुढ दलको तर्फबाट जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिनुभएको छ ।

हिजो समितिका सभापतिको लागि उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।