सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने
काठमाण्डौ । सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने भएको छ । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ सुरु गर्ने भएको नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बताउनु भएको छ ।
न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम सुरु गर्न लागेको उहाँले बताउनु भएको छ ।
आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उहाँले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो ।
कर्मचारीहरूको हस्तक्षेप हुन नदिन र प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न सिस्टम सुरु गरेको बताउनु भएको छ ।
सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गर्नुभयो ।