मौसम खबर : देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

अहिले कोसी प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

साथै उहाँका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तै आज राती भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।