महिला टी–ट्वान्टी आई सिरिजको उपाधी नेपाललाई

काठमाण्डौ । नेपालले चारदेश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको उपाधी जितेको छ । फाइनल खेलमा हङकङलार्ई १३ रनले पराजित गरी नेपाल सिरिज च्याम्पियन बनेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो ।

एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन : खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लुईस पद्दतीअनुसार विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहँदा नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिईन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् ।

नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिएका थिए ।

महिला टी-२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले सिरिज खेलेको हो ।